Sunday, December 5, 2021
गृहपृठअन्यकाँग्रेसमा गुट–उपगुटका कारण नाम चलेकै नेताहरुलाई झट्का

काँग्रेसमा गुट–उपगुटका कारण नाम चलेकै नेताहरुलाई झट्का

 धनगढीः काँग्रेसको महाधिवेशन र महासमिति प्रतिनिधि भइसकेका धनगढीका आनन्दराज जोशी, दशरथचन्द नगरपालिका बैतडी सभापति लालबहादुर चन्द र गोदावरी नगरपालिका वडा नम्बर ६ का डाक्टर लक्ष्मीराज पाठक वडा अधिवेशनमै पराजित भए। यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाकी उपप्रमुख सुशिला सिंह क्षेत्रीय सचिवमा पराजित भइन् भने कञ्चनपुरकै जिल्ला सभापति हरिप्रसाद बोहरा पनि महाधिवेशन प्रतिनिधिमा पराजित भए।

यस्तै कैलाली क्षेत्र नं ४ का सभापति दिनेशराज जोशी, कैलालीका नेता हेमप्रकाश उप्रेती, काँग्रेस डोटीका वर्तमान सभापति बलदेव बोहरा, कञ्चनपुरबाट संविधानसभा सदस्य रहेका बलदेव बोहरा, काँग्रेस कञ्चनपुरका पूर्वसचिव भोजराज बोहरा र नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय उपाध्यक्ष सिद्धराज भट्ट पनि पराजित भएका छन्।

यी त केवल प्रतिनिधि उदाहरण मात्र हुन। काँग्रेस महाधिवेशनमा नाम चलेकै थुप्रै नेतालाई झट्का लागेको छ।  सहमति र सहकार्यमा प्रतिनिधि छनोट गर्न सकिने आधार हुँदाहुँदै काँग्रेसभित्र मौलाएको गुट र उपगुटले धेरै नेताले पराजय भोगेको बताउन थालिएको छ। निर्वाचन प्रक्रिया र गैर काँग्रेसलाई क्रियाशिल सदस्यता बनाउने काम भएपछि पार्टीप्रति बफादार व्यक्तिले पराजय भोग्नु परेको काँग्रेस नेता डाक्टर लक्ष्मीराज पाठकले बताए। ‘केही समूहले गुट मात्र होइन उपगुट नै खडा गरेर नाम चलेकै नेतालाई झट्का दिने काम गरेको छ। यो विषयको गहिरो अध्ययन हुनु आवश्यक छ’ उनले  भने।

काँग्रेस महाधिवेशनमा अप्रत्याशित हारको संख्या गुटभित्रैका उपगुटका कारण बढ्दो छ। कञ्चनपुर क्षेत्र नम्बर २ र ३ मा नेताहरु रमेश लेखक र एनपी साउदले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए। २ मा लेखक प्यानलबाट उम्मेदवारी दिएका सबै पराजित भए भने ३ मा साउद प्यानलका उम्मेदवारले हार बेहोरे। केन्द्रमा साउद र लेखक शेरबहादुर देउवाका प्रिय पात्र भए पनि जिल्लामा दुवैले आ–आफ्नै उपगुट चलाइरहेका छन्। गुटभित्रैका नेताहरुको प्रतिस्पर्धाले काँग्रेस नेतृत्वलाई सास्ती हुने अनुमान गरिएको छ।

गुटभित्र हुर्किरहेका उपगुटको असर महाधिवेशनमा पनि देखिने निश्चित छ। नेपाली काँग्रेसको जराको रुपमा स्थापितहरुलाई विस्तापित गर्नेगरी पार्टीभन्दा गुट बलियो बनाउने प्रयास नेताहरुबाटै भएको कैलाली काँग्रेस जिल्ला उप–सभापतिका लागि उम्मेदवारी घोषणा गरेका लोकराज पाण्डे (आगो)ले बताए। ‘गुटभित्रैका नेताहरुको प्रतिस्पर्धाले काँग्रेस नेतृत्वलाई सकस हुने निश्चित देखिन्छ’ उनले भने।

नेताहरुले नै पार्टीभन्दा गुट बलियो बनाउने चाहनाका कारण यसप्रकारको रोग युवाहरुमा पनि सर्दै गएको नेपाली काँग्रेसकै राजनीतिमा जीवन समर्पण गरेकाहरुको अनुभव छ। चर्चित नेताहरु वडा तथा क्षेत्रमै पराजित हुनुले पनि यो विषयलाई थप पुष्टि गरिदिएको छ। जोसँग शक्ति र धन छ, उही व्यक्ति छनोट भइरहेको काँग्रेस नेता एवं विश्लेषक चन्द्रसिंह भट्टराईको अनुभव छ। उनी भन्छन्, ‘चर्चित नेताहरु क्षेत्रमै पराजित हुनु राम्रो सन्देश होइन। गुट र उपगुटबाट काँग्रेसलाई जोगाउनु नै इमान्दार कार्यकर्ताका लागि हितकर हुन्छ।’

गुटभित्रै हुर्किरहेको उपगुटका कारण नाम चलेका एवं प्रभावशाली मानिएका कतिपय नेतालाई समेत आगामी राजनीतिक यात्रालाई सुरक्षित राख्न चुनौती भइरहेको छ। ‘आर्थिक अवस्था कमजोर भएका राजनीतिकर्मीलाई त झन वडामै चुनाव लड्न मुस्किल हुन थालेको छ। यो विषयमा गहिरो समिक्षा गरेर गुटभित्रको भाडभैलो हटाउनु पर्छ’ भट्टराइले थपे।दिनेशबाट साभार 

ताजा समाचार